स्फोटवाद र सङ्केत सिद्धान्तको तुलना

Authors

  • प्रमप्रसाद चौलागाइ Author

Keywords:

अपोद्धार अर्थ, प्रकरण, वाक्प्रतीक, सङ्केत, स्थितलक्षण अर्थ

Abstract

प्रस्तुत लेख पूर्वीय वैयाकरण भर्तृहरि (इ.पाँचौँ शताब्दी) द्वारा प्रस्तुत स्फोटवाद र आधुनिक भाषाविज्ञानका प्रवर्तक फर्डिनान्ड डि ससुर (इ.बिसौँ शताब्दी) द्वारा प्रस्तुत सङ्केत सिद्धान्तको तुलनात्मक अध्ययनमा केन्द्रित छ । यसैले यस लेखमा स्फोटवाद र सङ्केत सिद्धान्तका वैशिष्ट्य प्रस्तुत गर्नुका साथै तिनको तुलना गरी प्राप्त भएको निचोड प्रस्तुत गरिएको छ । स्फोटवाद र सङ्केत सिद्धान्त दुवैले सामान्य भाषा र काव्य भाषाको अध्ययन र   विश्लेषणका लागि उपयुक्त सैद्धान्तिक आधार दिएका छन् । स्फोटवादले शब्द, अर्थ र ती दुईका बिचको सम्बन्ध तथा भाषिक सम्प्रेषण प्रक्रियाका माध्ममबाट सामान्य भाषा र काव्य भाषाको विश्लेषणका लागि उपयुक्त सैद्धान्तिक आधार दिएको छ । यसले अर्थविनाको शब्द हुँदैन तर कुन शब्दको के अर्थ हो भन्ने कुरो प्रयोगमा आधारित हुन्छ भन्दै अर्थनिर्धारणका लागि प्रकरण, देश, काल आदिलाई आधार मानेको छ । प्रकरण, देश, काल आदिका कारण एउटै शब्दले पनि अनन्त अर्थ दिन सक्छ भन्ने स्फोटवादको धारणा हो । स्फोटवादमा शब्द भनेर अर्थयुक्त भाषिक एकाइ मात्र नभई समष्टि भाषिक संरचना हो । स्फोटवादका यी मान्यताबाट उत्तरवर्ती भाषिक सिद्धान्त र ध्वनिवाद रससिद्धान्त जस्ता साहित्यिक सिद्धान्त प्रभावित भएकाले यो उपजीव्य सिद्धान्तका रूपमा रहन सफल भएको छ । यस्तै सङ्केत सिद्धान्तले पनि स्फोटवादले जस्तै सङ्केतक (शब्द), सङ्ेतित (अर्थ) र ती दुईका बिचको सम्बन्ध एवम् भाषिक सम्प्रेषण प्रक्रियाका माध्यमबाट सामान्य भाषा र काव्य भाषा दुवैको विश्लेषण गर्ने सैद्धान्तिक आधार दिएको छ । यस सिद्धान्तले पनि सङ्ेकतकअन्तर्गत शब्द मात्र नभई समष्टि भाषिक संरचनालाई समेटेको छ । यस सिद्धान्तले सामान्य भाषा र काव्य भाषाको भिन्नता छुट्याउने आधारमा वक्ता÷लेखक र श्रोता÷पाठकको परिस्थितिगत समानता र बौद्धिक क्षमतालाई आधार बनाएको छ । सङ्केत सिद्धान्तबाट पनि रूपार्थपरक व्याकरण, व्यवस्थापरक व्याकरणलगायतका भाषिक सिद्धान्त र उत्तरसंचनावाद आदि साहित्यिक सिद्धान्त प्रभावित भएकाले यो पनि उपजीव्य सिद्धान्तका रूपमा स्थापित भएको छ । यसरी प्रस्तुत अध्ययनबाट यी दुवै सिद्धान्त सामान्य भाषा र काव्य भाषाको विश्लेषणका लागि आधारभूत सिद्धान्त र उत्तरवर्ती भाषिक र साहित्यिक सिद्धान्तका लागि उपजीव्य सिद्धान्तका रूपमा रहेका र यी दुई सिद्धान्तमध्ये पनि पूर्ववर्ती स्फोटवादबाट उत्तरवर्ती सङ्केत सिद्धान्त प्रभावित भएको मुख्य निष्कर्ष प्राप्त भएको छ । 

Downloads

Published

2026-02-21

Issue

Section

Articles