मातृत्व कथामा प्रयुक्त मनोभाव र भाषा
Abstract
प्रस्तुत लेख मनोभाषाविज्ञानले निर्देश गरेको उत्तेजना प्रतिक्रिया पद्धतिका आधारमा ‘मातृत्व’ कथामा अभिव्यक्त मनोभाव र भाषाको विश्लेषणमा केन्द्रित छ । मनोभाषाविज्ञानका अनुसार मनोभावको प्रतिक्रियाका रूपमा भाषाको प्रयोग हुन्छ । मनोभावहरू उत्तेजना हुन् भने भाषिक प्रयोग चाहिँ प्रतिक्रिया हुन् । यसर्थ मनोभावअनुसार भाषाको प्रयोग हुन्छ र उक्त भाषिक प्रयोगले मनोभावको उत्पत्तिमा पनि प्रेरक भूमिका निर्वहन गर्दछ । यस लेखमा यही उत्तेजना प्रतिक्रिया पद्धतिका आधारमा मातृत्व कथामा प्रयुक्त भाव र भाषाको विश्लेषण गरी प्राप्त भएको निष्कर्ष प्रस्तुत गरिएको छ । मातृत्व कथामा भाषाप्रयोग गर्ने पात्रहरू ममता, सुबोध, छोराछोरी र एक जना भाइ छन् । यी सबै पात्रहरूको मनस्थिति फरक फरक छ । मनस्थितिअनुसार यी पात्रहरूमा मनमा जिज्ञासा, सन्तुष्टि, शङ्का, अरुचि, नैराश्य, उपेक्षा, पश्चात्ताप, ग्लानि, घृणा, क्रूरता, पीडा, सहयोग र प्रेमभाव उत्पन्न भएका छन् । यी भावको अभिव्यक्तिका लागि कथामा विस्मयादिबोधक शब्द, निपात, विशिष्ट पद÷फ्दावलीका साथै निश्चयार्थक, प्रश्नार्थक, आज्ञार्थक र इच्छार्थक भावका वाक्यहरूको प्रयोग भएको छ । कथामा पूर्ववर्ती भाषिक संरचनाले पारेको मानसिक प्रभावका अभिव्यक्तिका रूपमा उत्तरवर्ती भाषिक संरचनाको प्रयोग भएकाले मानसिक भाव, भावअनुरूपको भाषा र भाषाले पारेको मानसिक प्रभावको शृङ्खलामा कथा विन्यस्त छ भन्ने स्पष्ट हुन्छ । यसैले मनोभाषाविज्ञानको उत्तेजना प्रतिक्रिया पद्धतिले निर्देश गरेअनुसार मातृत्व कथामा भाषाप्रयोक्ताको मनोभावअनुसार भाषिक संरचनाको प्रयोग भएको छ र त्यसले श्रोताको मनलाई पनि प्रभावित बनाएको छ भन्ने निचोड प्रस्तुत अध्ययनबाट प्राप्त भएको छ ।