विजय मल्लका नाटकमा अहम रक्षायुक्ति
Abstract
प्रस्तुत लेख विजय मल्लका नाटकमा प्रयुक्त अहम् रक्षायुक्तिको अध्ययनमा केन्द्रित छ । विजय मल्लका पूर्णाङ्की नाटकमा विभिन्न प्रकारका अहम् रक्षायुक्तिको प्रयोग गरिएको पाइन्छ । उनका नाटकमा पात्रहरूले वास्तविक रूपमा पूरा हुन नसकेका अचेतनका इच्छा वा आवेगहरूको अप्रत्यक्ष रूपमा सन्तुष्टि वा निष्प्रभावीकरणका लागि विभिन्न उपाय गरेको देखिन्छ । त्यो अहम् रक्षायुक्ति हो र त्यसले अहम्को क्षति हुनबाट रोक्दछ । त्यसलाई मनोरचना पनि भनिन्छ । त्यो फ्रायडीय मनोविश्लेषणसँग सम्बन्धित छ । सिग्मन्ड फ्रायडले विभिन्न प्रकारका रक्षायुक्तिको व्याख्या गरेका छन् । फ्रायडले प्रस्तुत गरेका अहम् रक्षायुक्तिको सिद्धान्तलाई यस अध्ययनमा मुख्य सैद्धान्तिक आधारका रूपमा लिइएको छ । विजय मल्लका पूर्णाङ्की नाटकमा अहम् रक्षायुक्तिको प्रयोग केकस्तो छ भन्ने जिज्ञासाको समाधान खोज्नु नै यस अध्ययनको मुख्य उद्देश्य हो । गुणात्मक पद्धतिमा आधारित यस अध्ययनका लागि सामग्री सङ्कलन पुस्तकालयकार्यद्वारा गरिएको छ र सामग्रीको विश्लेषण विषयवस्तु विश्लेषण विधिमा गरिएको छ । सामग्रीको विमर्शबाट विजय मल्लका पूर्णाङ्की नाटकमा पात्रहरूले अहम्को रक्षाका लागि विभिन्न प्रकारका रक्षायुक्तिको उपयोग गरेका छन् भन्ने नतिजामा पुगिन्छ । अहम् रक्षायुक्तिका प्रयोगले मल्लका नाटक प्रभावकारी बनेका छन् भन्ने यस अध्ययनको निष्कर्ष रहेको छ ।